गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्सालसँग प्रधानमन्त्री बालेनको तस्बिर सार्वजनिक, भने- ‘देश बनाउने टोली’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८३, आईतवार
3 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई अँगालो हालेर खिचेको एउटा तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिएका छन्।

आइतबार साँझ फेसबुकमा तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले दुवै मन्त्रीलाई दायाँबायाँ राखेर उनीहरूलाई ‘देश बनाउने टोली’ को संज्ञा दिएका हुन्। सार्वजनिक तस्बिरमा तीनै जना नेताहरूले कालो चस्मा लगाएका छन् भने उनीहरूको पोसाक र बडी ल्याङ्ग्वेज निकै अनौपचारिक एवं ऊर्जावान् देखिन्छ।

- Advertisement -
Ad imageAd image

यद्यपि यो तस्बिर कहिले र कहाँ खिचिएको हो भन्ने कुरा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा खुलाएका छैनन्। विगतमा पनि मध्यराति वा ढिलो गरी सामाजिक सञ्जाल फेसबुकमा कडा र तरङ्गीत पार्ने खालका ‘स्टाटस’ लेखेर चर्चा र विवादमा आउने गरेका प्रधानमन्त्री बालेनको यो पछिल्लो पोस्टलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो तस्बिर गृहमन्त्री सुधन गुरुङ जेठ २६ गते पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएपछि सार्वजनिक भएको हो। सम्पत्तिसम्बन्धी विवादमा मुछिएपछि गृहमन्त्री गुरुङले आफ्नो पदबाट राजीनामा दिएका थिए।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न बनेको विशेष समितिले क्लिनचिट दिएको प्रतिवेदन बुझाएलगत्तै प्रधानमन्त्री बालेनले उक्त प्रतिवेदन सार्वजनिक नै नगरी गुरुङलाई दोस्रोपटक मुलुकको गृह प्रशासनको कमान्ड सम्हाल्ने गरी मन्त्रालयमा भित्र्याएका थिए।

गुरुङको यो पुनरागमनलाई राजनीतिक रूपमा बलियो समर्थन रहेको देखाउन प्रधानमन्त्रीले यो तस्बिर सार्वजनिक गरेको अनुमान गरिएको छ। गुरुङ र बालेनको सम्बन्ध विगतदेखि नै निकै निकट मानिन्छ।

नेपालको राजनीतिमा ‘जेनजी’ (युवा पुस्ता) को आन्दोलन र प्रदर्शनबाट एकाएक राष्ट्रिय चर्चामा आएका गुरुङले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बालेनलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन भित्रभित्रै ठूलो प्रयास गरेका थिए। यद्यपि, त्यतिबेला बालेनले प्रधानमन्त्री बन्न अस्वीकार गरे पनि दुई नेताबीचको रणनीतिक र भावनात्मक सम्बन्ध त्यहीँदेखि प्रगाढ बनेको थियो।

तस्बिरमा देखिएका अर्का पात्र पूर्वाधारमन्त्री सुनिल लम्साल प्रधानमन्त्री बालेनका सबैभन्दा भरपर्दा र विश्वासपात्र सारथि हुन्। बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा लम्साल उनको पूर्वाधार विज्ञका रूपमा कार्यरत थिए र त्यही समयदेखि उनीहरूबीच घनिष्ठ व्यावसायिक एवं व्यक्तिगत सम्बन्ध स्थापित भएको थियो।

गत फागुन २१ गतेको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग बालेन समूहले राजनीतिक एकता गरेपछि लम्साललाई पार्टीको महामन्त्री बनाइएको थियो। रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट सानदार जित हासिल गरेका लम्साललाई प्रधानमन्त्री बालेनले बजेट र रणनीतिक विकासका हिसाबले देशकै सबैभन्दा ठूलो र शक्तिशाली मानिने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन्।

आफ्ना दुई खम्बा मानिएका मन्त्रीहरूसँगको यो सांकेतिक तस्बिरमार्फत प्रधानमन्त्री बालेनले आफ्नो क्याबिनेट र सरकार देश विकासको एजेन्डामा दृढतापूर्वक एक ठाउँमा उभिएको सन्देश दिन खोजेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्