प्रतिनिधिसभा बैठक आज पनि बस्दै: विपक्षीको अवरोध जारी रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ जेष्ठ २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको छ ।

प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सुचारु हुने सम्भावना न्यून रहेको छ ।

- Advertisement -
Ad imageAd image

विपक्षी दलहरुले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर संसदको रोष्ट्रमबाट माफी नमागेसम्म बैठक चल्न नदिने अडान यथावत राख्दा लामो समयदेखि संसद चल्न सकेको छैन ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त विषयमा छलफल प्रारम्भ हुनेछ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोर पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको सभालाई जानकारी गराउने छन् ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्