काठमाडौँ – सरकारले बाजुरा र हुम्लाको सीमासम्बन्धी अध्ययन गर्न समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले समिति गठन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक(एक जना प्रतिनिधि सदस्य रहनेछन्।
नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिएको छ भने नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।
केहि दिन अघि लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिट समेत भएको थियो । यस्तैमा हिमाली युवा क्लब बाजुराले कर्णाली करिडोर जेठ १० गते दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ।
केही दिनअघि बाजुराको हिमाली गाउँपालिका – ३ मा भएको घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस्