पञ्जाब किंग्समाथि २३ रनको रोमाञ्चक जित निकाल्दै आरसीबी आईपीएलको प्लेअफमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ जेष्ठ २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – पन्जाब किंग्सविरुद्ध २३ रनको जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

बैंगलुरु जारी संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली हो । जितसँगै १३ खेलमा १८ अंक जोडेको बैंगलुरु शीर्ष स्थानमा छ । लगातार छैटौँ हार ब्यहोरेको पन्जाब समान खेलबाट १३ अंकका साथ चौथो स्थानमा छ ।

- Advertisement -
Ad imageAd image

आईतबार धर्मशालामा बैंगलुरुले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १९९ रन बनायो ।

पन्जाबका शशांक सिंहले ५६ रनको इनिङ खेले । उनले २७ बलमा समान चार चौका र छक्का प्रहार गरे । कुपर कोनोली र मार्कस स्टोइनिसले समान ३७ र सूर्यान्श शेड्गेले ३५ रन बनाए । छैटौँ विकेटका लागि सिंह र स्टोइनिसले ६७ रनको साझेदारी गरेका थिए ।

बैंगलुरुका रसिक सलामले तीन विकेट लिए । भुुवनेश्वर कुमारले दुई विकेट हात पार्दा जोश हेजलउड, सुयश शर्मा र रोमारियो शेफर्डको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आएको बैंगलुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२२ रनको योगफल खडा गरेको थियो ।

बैंगलुरुका वेंकटेश अय्यरले अविजित ७३ रनको इनिङ खेले । उनले ४० बलमा आठ चौका र चार छक्का प्रहार गरे । विराट कोहलीले ५८ रनको योगदान गरे । उनले ३७ बलमा चार चौका र तीन छक्का प्रहार गरे । देवदत्त पडिकलले ४५, टिम डेविडले २८ र ज्याकोब बेथेलले ११ रन बनाए ।

दोस्रो विकेटका निम्ति कोहली र पडिकलबीच ७६ रनको साझेदारी भएको थियो । अय्यरले चौथो विकेटका लागि डेविडसँग ६५ र तेस्रो विकेटका लागि कोहलीसँग ६० रनको साझेदारी गरे ।

पन्जाबका हरप्रीत ब्रारले दुई विकेट लिए । अर्शदीप सिंह र युजवेन्दर चहलले समान एक विकेट हात पारे ।

आईपीएलको दोस्रो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिचको प्रतिस्पर्धा जारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्