एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ बैशाख २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – इंग्लिस क्लब आर्सनलले २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। सेमिफाइनलको दोस्रो लेगमा बुकायो साकाले गरेको एकमात्र गोल निर्णायक बन्यो। साकाको यो गोलले एथ्लेटिको म्याड्रिडलाई समग्रमा २-१ ले पराजित गर्न पर्याप्त भयो।

मिकेल आर्टेटाको टोली गत सिजन सेमिफाइनलमा साविक च्याम्पियन पेरिस सेन्ट-जर्मेनसँग पराजित भएको थियो। तर यसपटक तुलनात्मक रुपमा सहज प्रतिद्वन्दीका रुपमा हेरिएको स्पेनिस क्लब एट्लेटिकोलाइ हराएर आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनायो। यो सँगै आर्सनलले च्याम्पियन्स लिग तथा प्रिमियर लिग दुबैको उपाधि सम्भावनालाई कायम राखेको छ।

- Advertisement -
Ad image

यसअघि पहिलो लेगमा १-१ गोलको बराबरी भएको थियो। मंगलबार आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगको सुरुआत तनावपूर्ण रह्यो, जहाँ सुरुवाती समयमा स्पष्ट अवसरहरू सिमित मात्र देखिएका थिए। तर खेलको ४४औँ मिनेटमा साकाले गरेको एकमात्र गोल निर्णायक बन्यो। जान ओब्लाकले लिएन्ड्रो ट्रोसार्डको प्रहार रोकेपछि आएको रिबाउन्डलाई उनले जाली चुमाएका थिए।

एथ्लेटिकोले पनि केही अवसरहरू बनाएको थियो। पहिलो हाफमा जुलियानो सिमेओनेलाई रोक्न डेक्लान राइसले अन्तिम क्षणमा उत्कृष्ट ट्याकल गर्नुपरेको थियो। दोस्रो हाफमा सिमेओनेले डेभिड रायालाई छलिसकेपछि बराबरी गोल गर्न लाग्दा गाब्रिएलले उत्कृष्ट बचाउ गरे।

त्यसपछि पनि ग्योकेरेससँग आर्सनलको अग्रता दोब्बर पार्ने सुनौलो मौका थियो, तर वैकल्पिक खेलाडी पिएरो हिन्कापिएले दिएको पासमा उनले बक्सभित्रबाट प्रहार गर्दा बल आकासिन पुग्दा मौका चुक्यो। यद्यपि त्यो मौका खेर गए पनि आर्सनलले एथ्लेटिकोलाई दबाबमा राख्दै २००६ मा बार्सिलोनासँग फाइनल हारेपछि पहिलो पटक पुनः च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।

अब आर्सनलले मे ३० मा बुडापेस्टमा हुने फाइनलमा बायर्न म्युनिख वा पिएसजीमध्ये कुनै एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। आर्सनल पहिलो पटक यो प्रतिष्ठित उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिने छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्