काठमाडौं – प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्।
प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्त जाने ठाउँ नभएका र आफै आवास प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सुरूमा दशरथ रंगशाला लगिएको हो। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्रीकाे सचिवालयले हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको जानकारी दिएकाे छ ।
‘बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ। हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो। बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ, सचिवालयले भनेकाे छ ।
यस क्रममा अहिलेसम्म रंगशाला पुगेकामा ९९७ जना मानिस रंगशाला पुगेका हुन्। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।
समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्। हिजो फारम भराइएकामध्ये ३१ परिवारलाई कीर्तिपुर पठाइएको थियो।
कीर्तिपुरको सत्संग भवनमा सुकुम्बासी राख्न होल्डिङ सेन्टर बनाइएको छ। ३१ परिवार बसेको होल्डिङ सेन्टरको भरिएका कारण बाँकीलाई अन्यत्रै व्यवस्थापन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्