पाँच दलले चुने दल नेता, कांग्रेसमा लफडा कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०८२, बिहीबार
4 Min Read
Aa

काठमाडौं – संसद्मा भएका रास्वपा, एमाले, नेकपा र राप्रपाले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयनमा ढिलाइ भएको छ । श्रम संस्कृतिबाट पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) दल नेता हुने निश्चित भए पनि निर्णय हुन बाँकी छ । बिहीबारदेखि संसद् सुरु हुँदै छ ।

संसद्मा दल नेता र सचेतकको महत्त्वपूर्ण भूमिका हुने भएकाले वरिष्ठ नेता र सांसदहरूको दाबी रहने गरेको छ । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह दलको नेता चयन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । रास्वपा दल उपनेता, मुख्य सचेतक र सचेतक चयनको गृहकार्यमा लागेको छ । सुरुमा सभामुख र उपसभामुख टुंग्याएपछि अरू विषयमा अघि बढ्ने रास्वपाले जनाएको छ । रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दललाई दिनुपर्नेछ ।

- Advertisement -
Ad imageAd image

कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलको हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्ने विषयमा समेत सांसदहरूबीच अन्योल देखिएको छ ।

अर्कोतर्फ सरकारले रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिप्रति चासो बढाएको छ । शक्ति सन्तुलनको सिद्धान्तबमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्ष दलको नेता समेत सदस्य रहने संवैधानिक व्यवस्था छ । ६ सदस्यीय परिषद्‌मा अन्य सदस्यका रूपमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधिसभाका उपसभामुख रहने व्यवस्था छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारदेखि नै अनिवार्य अवकाशमा गइसकेका छन् । सभामुख र उपसभामुखको निर्वाचन अझै भएको छैन । अबको संसद्को मुख्य कार्यसूची नै सभामुख र उपसभामुख चयन रहेको छ ।

निर्वाचनलगत्तै सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् । नेता शेखर कोइराला र उनी पक्षीय नेताहरू पनि अहिले सोही समूहमा देखिएका छन् ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यही कारणले संसदीय दलको नेता चयन प्रक्रिया प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ ।

महामन्त्री गुरुराज घिमिरे भने पार्टीका अन्य सांगठनिक कामको व्यस्तताका कारण दलको नेता चयनमा केही ढिलाइ भएको बताउँछन् । दलको नेता चयन प्रक्रिया अघि बढाउन आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको उनले जानकारी दिए ।

‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयन प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने ।

संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता सर्वसम्मतिबाट चयन होस् भन्ने चाहना राखिरहेको छ । तर, पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउने संकेत दिएको छ । देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्देम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङदेम्बेले मध्यमार्गी भूमिका देखाउन खोजेकाले उनको नाममा सर्वसम्मति हुन सक्ने एक पदाधिकारीले बताए ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नाम समेत चर्चामा छ । संसद्‍मा युवा सांसदहरूको बाहुल्यता रहेकाले कांग्रेसभित्र पुराना नेताभन्दा युवा सांसद निश्चल राईलाई दलको नेता बनाउन समेत लबिङ भइरहेको छ ।

कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी हुन् । ज्येष्ठ सदस्यको नाताले सभामुखको निर्वाचन सम्पन्न नभएसम्म उनले संसद्को अध्यक्षता गर्नेछन् । केसीले केही समयअघि दलको नेताका लागि इच्छा व्यक्त गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्