काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट विश्वभर विभिन्न टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपालमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत हुने भएको छ । नेपाली कमेन्ट्री फिड आईसीसी डट टीभी (ICC.tv) मार्फत अन्य केही देशमा पनि उपलब्ध हुनेछ ।
नेपालमा स्टार स्पोर्ट्स टेलिभिजन च्यानल प्रसारणको अधिकार पाएका नेट टिभी, भायाटिभी, क्लियर टिभी र डिशहोमका खेलकुद प्याकेजमार्फत नेपाली दर्शकले विश्वकपका ५५ वटा खेलको प्रत्यक्ष मज्जा लिन पाउने भएका छन् । डिशहोम प्रयोगकर्ताका लागि भने ‘डिशहोम गो’ एपमार्फत मोबाइलमै खेल हेर्ने सुविधा उपलब्ध हुनेछ ।
यस्तै, आयोजक भारतमा प्रतियोगिता जियोस्टारले स्टार स्पोर्ट्स टेलिभिजन च्यानल र जियोहटस्टार डिजिटल प्लेटफर्ममार्फत देखाउनेछ । खेलहरू अंग्रेजी, हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा उपलब्ध हुनेछन् भने बंगाली, भोजपुरी र हरियाणवी जस्ता क्षेत्रीय फिड पनि जियोहटस्टारमा हेर्न सकिनेछ ।
भारतका खेल, सेमिफाइनल र फाइनलमा मराठी र भारतीय सांकेतिक भाषा (Indian Sign Language) कमेन्ट्री पनि रहनेछ । मोबाइल प्रयोगकर्ताका लागि भर्टिकल लाइभ फिड, ३६० डिग्री भ्यु र मल्टी–क्याम विकल्प समेत उपलब्ध गराइनेछ । साथै, भारतभरका विभिन्न सहरमा पीभीआर–आइनक्स सिनेमा हलमा पनि विशेष स्क्रिनिङ हुने भएको छ ।
बेलायत र आयरल्यान्डमा स्काइ स्पोर्ट्स क्रिकेट र स्काइ स्पोर्ट्स मेन इभेन्टमार्फत खेल हेर्न सकिनेछ भने डिजिटल रूपमा NOW प्लेटफर्म उपलब्ध हुनेछ । सेमिफाइनल र फाइनलमा हिन्दी कमेन्ट्री पनि प्रदान गरिनेछ । इटालीमा पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको इटालीका सबै खेल, सेमिफाइनल र फाइनल स्काइ इटालियाबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
अष्ट्रेलियामा प्राइम भिडियोमार्फत प्रतियोगिता देखाइनेछ, जहाँ भारतका खेल, सेमिफाइनल र फाइनलका लागि हिन्दी कमेन्ट्री फिड पनि उपलब्ध हुनेछ । न्युजिल्यान्डमा स्काइ स्पोर्टले प्रसारण गर्नेछ र त्यहाँ पनि भारतका खेलहरूमा हिन्दी कमेन्ट्री समावेश हुनेछ ।
पाकिस्तानमा पीटीभी र माइको (Myco) ले प्रसारण गर्नेछन् भने तमाशा, एआरवाई ज्याप र ट्यापम्याड डिजिटल साझेदारका रूपमा रहनेछन् । पाकिस्तानका खेलका लागि आईसीसीले विशेष उर्दू कमेन्ट्री फिड उत्पादन गर्नेछ ।
अमेरिका र क्यानडामा विलो टिभीले सबै ५५ खेल प्रत्यक्ष देखाउनेछ । यूएसए टोलीका सबै खेल निःशुल्क उपलब्ध हुनेछन् र ती खेलहरू विलोको आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । अंग्रेजी र हिन्दी कमेन्ट्री उपलब्ध हुनेछन् भने केही खेलमा वैकल्पिक कमेन्ट्री पनि प्रदान गरिनेछ ।
मध्यपूर्व (यूएई तथा मेना क्षेत्र) मा क्रिकलाइफ म्याक्स (StarzPlay) मार्फत प्रसारण हुनेछ । साथै, यूएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन र ओमानका विभिन्न सिनेमा हलमा पनि ठूलो पर्दामा खेल हेर्न सकिने व्यवस्था गरिएको छ ।
क्यारिबियन टापुहरूमा ईएसपीएनले प्रत्यक्ष प्रसारण गर्नेछ भने ल्याटिन अमेरिकामा डिज्नी प्लस एपमार्फत स्ट्रिमिङ हुनेछ । ब्राजिलमा केही खेलहरू पोर्चुगिज कमेन्ट्रीसहित देखाइनेछन् ।
बंगलादेशमा टी स्पोर्ट्स र नागरिक टिभीले टेलिभिजनमार्फत तथा र्याबिटहोल डिजिटल प्लेटफर्ममार्फत प्रतियोगिता हेर्न सकिनेछ । अफगानिस्तानमा लेमार टिभीले पश्तो र दारी भाषामा कमेन्ट्रीसहित प्रसारण गर्नेछ ।
यसका अतिरिक्त, नेदरल्याण्ड्समा NOS ले आफ्ना टोलीका सबै खेल स्ट्रिम गर्नेछ भने मलेसिया र हङकङमा क्रिकबज च्यानलमार्फत खेल उपलब्ध हुनेछ । यात्रामा रहेका दर्शकका लागि Sport 24 मार्फत हवाइजहाज र समुद्री यात्रामा पनि प्रतियोगिता हेर्न सकिने व्यवस्था गरिएको छ ।
यी सबैबाहेक बाँकी देशहरूमा आईसीसीको आफ्नै प्लेटफर्म ICC.tv मार्फत प्रतियोगिता प्रत्यक्ष र निःशुल्क उपलब्ध हुनेछ, जहाँ जापानी र बहासा लगायत विभिन्न भाषामा कमेन्ट्री विकल्प पनि रहनेछ ।


प्रतिक्रिया दिनुहोस्