काठमाडाैँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी दोहाेर्याएका हुन् । सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे । उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए ।
उनले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गरे । उनले अझै पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्का कायम रहेको बताउँदै थपे, “अझै पनि कतिपय मान्छेहरूले निर्वाचन हुन्छ कि हुँदैन भनेर भन्ने गर्नुभएको छ । दोस्रो संविधान सभाको निर्वाचनको बेलामा पनि यस्तै अवस्था थियो । हाम्रो शंकालु मानसिकता र कन्फ्युजन वातावरणमा छन् ।”


प्रतिक्रिया दिनुहोस्