म सत्ताको लागि चुनाव लड्दिन, देशको भविष्यको लागि लड्छु: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल ‘प्रचण्ड’ले आइतबार भिडिओ सन्देश दिँदै आफू पुराना नेताहरूको भिडमा रहेको र सत्ताको लोभ नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जेनजी र युवालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि लड्ने बताएका छन्। ‘धेरैलाई लाग्न सक्छ, म र मजस्ता पुराना नेता एउटै हुन्। तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ,’ प्रचण्डले भनेका छन्, ‘म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु, मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’

- Advertisement -
Ad image

उनले सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएपछि अब सत्ताको लोभ नभएको बताएका छन्। ‘एउटा मान्छेले आफ्नो जीवनमा जेजति गुमाउन सक्छ, मैले ति सबै गुमाए। तर मलाई के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन। यो ती हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालका लागि आफ्नो रगत बगाए,’ उनले भनेका छन्।

आफूले परिवर्तन गरेरै छाड्ने उनले बाचा गरेका छन्। ‘मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन। परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि यो परिवर्तन भएरै छाड्नेछ,’ प्रचण्डले भनेका छन्।

एउटा चर्चित भनाइ ‘या त तिमी नायक रुपमा मर या आफूलाई खलनायक बनेको हेर्न जिवित रहु’लाई उद्धृत गर्दै आफू खलनायकको रुपमा चित्रित हुन नचाहेको बताएका छन्। प्रचण्डले भावुक हुँदै भनेका छन्, ‘यदि म धेरै अघि बिदा भएको भए सायद, देशले मलाई नायकको रुपमा मात्रै सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्न। म यो देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’

उनले अब नयाँ नेता परिक्षण गर्ने समय नरहेको बताएका छन्। सामाजिक सञ्जालका पोस्टले भ्रम नपर्न युवालाई आग्रह गरेका छन्। प्रचण्डले भनेका छन्, ‘हामीसँग अर्को २० वर्ष परिक्षण र त्रुटी गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्