आजदेखि निर्वाचन प्रहरीमा आवदेन दिन पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ पुष २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभागले बिहीबार सूचना जारी गर्दै निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिने जनाएको हो। निर्वाचन प्रहरी बन्न इच्छुक व्यक्तिले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्।

- Advertisement -
Ad imageAd image

दरखास्त बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिनमा समेत आवेदन स्वीकार गरिनेछ।

निर्वाचन प्रहरीको छनोट प्रक्रिया प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रत्येक जिल्लामा गठन हुने, सुरक्षा निकायका प्रतिनिधि सम्मिलित समितिमार्फत सञ्चालन गरिनेछ। यसअघि ‘म्यादी प्रहरी’ भनिँदै आएको यस सेवालाई यसपटक पहिलोपटक औपचारिक रूपमा ‘निर्वाचन प्रहरी’ नामाकरण गरिएको हो।

निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ। पूर्वसुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरिसकेका व्यक्ति, छिमेकी देशका सुरक्षा निकायमा सेवा गरी अवकाश पाएका तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइसकेकाले आवश्यक प्रमाणपत्र पेस गरेमा प्राथमिकता पाउने व्यवस्था गरिएको छ। साथै, फौजदारी कसुरमा सजाय नपाएको तथा नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

छनोटमा परेकालाई १० दिनको तालिम दिइनेछ। तालिम सम्पन्न भएपछि उनीहरूलाई करिब एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइने सरकारको तयारी छ। निर्वाचन प्रहरीहरूले ४० दिनको तलब प्राप्त गर्नेछन्, जुन प्रहरी जवानको सरह हुनेछ।

यसका अतिरिक्त निर्वाचन प्रहरीलाई प्रहरी सरहकै पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता तथा रासन उपलब्ध गराइनेछ । जिल्लाअनुसार रासनमा भने केही फरक पर्ने सूचनामा उल्लेख गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्