नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउको राष्ट्रिय एकता अभियानद्वारा स्वागत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले सो कदमलाई “सुशासन र जवाफदेहिता स्थापनातर्फको ऐतिहासिक पहल” भनेर स्वागत गरेको छ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार यो पक्राउले देशमा जरा गाडिरहेको दण्डहीनताको संस्कृतिविरुद्ध महत्वपूर्ण सन्देश दिएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिहरू कानुनभन्दा माथि छैनन् भन्ने ध्वनि पहिलोपटक स्पष्ट रूपमा स्थापित भएको उनको भनाइ छ।

- Advertisement -
Ad image

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा ‘मुख्य जिम्मेवार’

राष्ट्रिय एकता अभियानले विगत लामो समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता र त्यसले देशको हवाई सुरक्षा, पर्यटन सम्भावना र राष्ट्रिय गौरवमाथि पारेको असरबारे व्यापक रूपमा आवाज उठाउँदै आएको थियो।
अभियानले महानिर्देशक प्रदीप अधिकारीलाई उक्त अनियमितताका प्रमुख जिम्मेवारका रूपमा चिनाउँदै विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन गरेको थियो।

धर्नादेखि मन्त्री तथा CDO लाई ज्ञापन

अभियानले पोखरा र काठमाडौँमा शान्तिपूर्ण धर्ना, विरोध प्रदर्शनदेखि लिएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिन र अधिकारीको निलम्बनको माग गर्दै आएको थियो।
अनियमितताका तथ्य सार्वजनिक गर्न अभियानले देशभरका सञ्चार माध्यममा निरन्तर वैचारिक हस्तक्षेप पनि गरेको थियो।

‘यो केवल प्रारम्भिक कदम मात्र’

अध्यक्ष यादवले महानिर्देशक अधिकारीको गिरफ्तारीलाई ‘जनताको अपेक्षाको आंशिक सफलता’ भनेका छन्।
अभियानले अख्तियारलाई निष्पक्ष र दबावरहित ढङ्गले छानबिन अघि बढाउन आग्रह गर्दै सो प्रकरणमा संलग्न अन्य उच्च पदस्थ कर्मचारी, राजनीतिक नेतृत्व र ठेकेदार कम्पनीहरूलाई समेत छानबिनको दायरामा ल्याउन माग गरेको छ।

अभियानले भ्रष्टाचारबाट आर्जित सम्पत्ति फिर्ता गराउने, सम्पत्ति शुद्धीकरण सम्बन्धी गहिरो अनुसन्धान गर्ने र भविष्यमा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा उच्च नैतिक मापदण्ड कायम गर्न सरकारसँग आग्रह गरेको छ।

‘सङ्घीय हिन्दू गणतन्त्र’ को परिकल्पनासँग जोडिएको अपेक्षा

अध्यक्ष यादवले राष्ट्रभक्तिपूर्ण ‘सङ्घीय हिन्दू गणतन्त्र’ को विचारले परिकल्पना गरेको भ्रष्टाचारमुक्त राष्ट्र निर्माणतर्फ यो पक्राउ एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्