गगन थापा र विश्वप्रकाश बालुवाटारमा: एमालेलाई चुनावमा भाग लिन मनाउन प्रयास गर्ने प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापासँग छुट्टै छलफल गरेकी छिन् । बालुवाटारमा भएको छलफल करिब एक घण्टा चलेको जनाईएको छ । निर्वाचनबारे परामर्शको क्रमकै रुपमा प्रधानमन्त्री कार्कीले कांग्रेस महामन्त्रीद्धयसँग आज छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी हुन् । दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिईन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

थापा र शर्माले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताएका थिए । जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरुले राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ। प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक–फरक दलका नेताहरुसँग छलफल गरेकी थिईन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्