नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै: नक्साल भगवती मन्दिरमा भक्तजनको भीड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।”

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

नवरात्रको चौथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ । नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्