काठमाडौंमा ‘जिहादी’ आक्रमणविरुद्ध प्रदर्शन: नेताहरूको रिहाइ र निष्पक्ष छानबिनको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८२, बिहीबार
2 Min Read
Aa

काठमाडौं – काठमाडौंको माईतिघर मण्डलामा मंगलबार राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनले धनुषामा भएको ‘जिहादी’ आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र पक्राउ परेका आफ्ना दुई नेता मनिष हिन्दु र जितेन्द्र दासको तत्काल रिहाइको माग गरेको छ।

उपत्यकाका विभिन्न भागबाट आएका सहभागीहरूले प्लेकार्डसहितको जुलुसमा भाग लिए। उनीहरूले प्रहरी प्रशासनले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूमाथि झूटो मुद्दा लगाएको दाबी गर्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले घटनालाई धार्मिक समुदायमाथि लक्षित आक्रमणका रूपमा व्याख्या गर्दै राज्यको मौनतालाई अस्वीकार्य भने।

- Advertisement -
Ad image

वक्ताहरूले घटनाप्रति सरकारले देखाएको उदासीनतालाई आलोचना गरे। उनीहरूले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूलाई पक्राउ गर्नु न्यायको आधारभूत मान्यताविपरीत भएको बताए। अभियान एक नेताले भने, “रुपैठामा भएको आक्रमणका दोषीलाई कारबाही नगरी नेताहरूलाई जेल हाल्नु अनुचित छ। यो घटनाबारे सत्यतथ्य सार्वजनिक भई निष्पक्ष छानबिन हुनुपर्छ।”

मैतीघर मण्डला लामो समयदेखि विभिन्न सामाजिक र राजनीतिक आन्दोलनको प्रतीक स्थल बनेको छ। विगतमा शिक्षक आन्दोलनदेखि मानवअधिकारको सवालसम्म, यो चोकमा भएका प्रदर्शनहरूलाई सरकारले पटक–पटक बलपूर्वक नियन्त्रण गर्न खोजेको इतिहास छ। मंगलबारको प्रदर्शन पनि त्यही निरन्तरताको अर्को अध्याय बनेको छ, जहाँ प्रदर्शनकारीहरूले न्याय र समान सुरक्षाको प्रत्याभूति खोजिरहेका थिए।

प्रदर्शनले राज्यप्रतिको अविश्वास र समुदायबीचको असुरक्षाबोधलाई पुनः सतहमा ल्याएको छ। सहभागीहरूले माग गरेका तीन बुँदा स्पष्ट थिए—पक्राउ परेका नेताहरूको तत्काल रिहाइ, धनुषा घटनामा संलग्न वास्तविक दोषीमाथि कारबाही, र सबै नागरिकको सुरक्षामा राज्यको तटस्थता। उनीहरूको भनाइमा, घटनाले नेपालमा सामाजिक सद्भाव र धार्मिक सहअस्तित्वबारे नयाँ बहसलाई जन्म दिएको छ।

मैतीघरमा उठेको आवाजले एकपटक फेरि नेपालको लोकतान्त्रिक यात्रामा नागरिकहरूको सक्रिय भूमिकालाई प्रष्ट पारेको छ। आन्दोलनकारीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए देशव्यापी आन्दोलनको सम्भावना खुला हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्