आज मिति वि. सं. २०८२ जेष्ठ १९ गते सोमबार ईसं २०२५ जुन २ नेपाल सम्बत ११४५ तछलाथ्व सप्तमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल सप्तमी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्याघात योग, गर करण । आज बिहान ०५ बजेर ०८ मिनेटमा झुल्किएको घाम भरे साँझ ०६ बजेर ५५ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले समस्याको समाधान मिल्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन विलासितामा धन खर्च हुने र मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने योग छ । स्वास्थ्य पनि केही कमजोर रहने सम्भावना छ । बौद्धिक र रचनात्मक काममा चाहिँ आंशिक सफलता मिल्नेछ । यात्रापरक काम आजको लागि थाती राख्नु उचित हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिनसक्छन् तर टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सभा-समारोहमा मान पुरस्कार प्राप्त हुने सम्भावना छ । तथापि, अर्थअभावको अनुभूति हुनसक्छ, ध्यान राख्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिगो आम्दानी हुने काम सुरु हुने र प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउने दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिएला । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिने योग छ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक जमघटका साथै मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावनाका बाबजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने देखिन्छ । स्वास्थ्यमा भने केही समस्या देखिनसक्छ, सजगता अपनाउनुहोला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । पारिवारिक सुख शांति बढ्नेछ । मित्रजनको साथ प्राप्त होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आर्थिक कारोबार आज नगरेकै बेस हुनेछ । चुनौतीका बाबजुद पराक्रम बढ्नेछ । आरोग्यबल पनि वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार पुर्याउनु उचित होला । साहसिक काममा आकर्षण बढ्ने समय छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुख वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि-चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन गर्ने योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन केही चुनौतीयुक्त छ । कुनै अवसर प्राप्त भए पनि कुरा इर्ष्यालुजनको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवादको सम्भावना छ, बोली र व्यवहारमा लगाम लगाउनु उचित होला । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने देखिन्छ । तथापि, आम्दानी वृद्धिको योग छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना पनि छ । काम बिग्रने डरले सताइरहला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, बोली र व्यवहारमा सजग रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । पराक्रम वृद्धि र सुख विलास पनि बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्