काठमाडौं – जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ। बुधबार भएको खेलमा दिल्ली क्यापिटल्स लाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो।
यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर बैङ्ग्लुरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ। मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो।
दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
मुम्बईका माइकल सान्टनरले चार ओभरमा ११ रन खर्चेर तीन तथा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे। मुम्बईको बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो।
मुम्बईका लागि सूर्यकुमार यादव ४३ बलमा ७३ रन प्रहार गर्दै अविजित रहे। उनको पारीमा सात चौका र चार छक्का समावेश थियो। तिलक बर्माले २७, रेन रिकेल्टनले २५ तथा विल ज्याक्सले २१ रनको योगदान गरे। नमन धिर ८ बलमा २४ रन प्रहार गर्दै अविजित रहे। आईपीएलमा आज अंक तालिकाको शिर्ष स्थानमा आसिन गुजरात टाइटन्स र लखनउ सुपर जायनट्सबीच प्रतिस्पर्धा हुँदैछ।


प्रतिक्रिया दिनुहोस्