रोकिएको आईपीएल मे १७ देखि पुनः सञ्चालन हुने, फाइनल जुन ३ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० बैशाख २०८२, मंगलवार
3 Min Read
Aa

काठमाडौँ – स्थगित भएको इण्डियन प्रिमियर लिग (आईपीएल) पुन: सुचारु हुने भएको छ । भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरूको तालिका घोषणा गरेको हो ।

आईपीएल मे १७ बाट फेरि सुरु हुने भएको छ । सबै खेलहरू छ वटा मैदानमा खेलाइनेछन् । फाइनल खेल जुन ३ मा खेलिनेछ । भारत र पाकिस्तानबीचको तनावका बीच बीसीसीआईले आईपीएल एक हप्ताको लागि स्थगित गरेको थियो । १८औं सिजनका ५८ खेल खेलिएका थिए, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीच खेलिएको खेल पनि समावेश थियो । खेल बीचैमा रोकियो र त्यसैले खेल अनिर्णीत रह्यो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको छ। दुवै टोली मे २४ मा जयपुरमा भिड्नेछन् ।

- Advertisement -
Ad imageAd image

बोर्डले आईपीएल २०२५ सिजनका बाँकी १७ खेलहरूको तालिका घोषणा गरेको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद सहित छ वटा मैदानमा खेलाइनेछ । नयाँ तालिकामा दुई डबलहेडरहरू पनि समावेश छन् । पहिलो डबल हेडर मे १८ मा हुनेछ । आइतबार दिउँसो राजस्थान रोयल्सले जयपुरमा पञ्जाब किंग्सको सामना गर्नेछ भने सोही दिन साँझ दिल्ली क्यापिटल्सले दिल्लीमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। जबकि, दोस्रो डबल हेडर मे २५ मा हुनेछ। आइतबार, गुजरात टाइटन्सले दिउँसो चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने सनराइजर्स हैदराबादले साँझ ७:३० बजे कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मे २८, मे ३१ र जुन २ मा कुनै पनि खेल खेलाइने छैन।

प्लेअफका खेलहरू मे २९ बाट सुरु हुनेछन्। पहिलो छनोट खेल मे २९ मा हुनेछ । एलिमिनेटर मे ३० मा खेलाइनेछ । दोस्रो छनोट खेल जुन १ मा खेलाइनेछ भने फाइनल खेल जुन ३ मा हुनेछ । यी चार खेलको स्थान पछि घोषणा गरिनेछ ।

आईपीएल २०२५ सिजन स्थगित हुनुभन्दा अघि गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा थियो। ११ खेलमा आठ जित र तीन हारसहित गुजरात १६ अंकसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा आरसीबी रहेको छ, जसको गुजरातसँग समान खेलमा बराबर अंक छ । त्यस्तै पञ्जाब तेस्रो स्थानमा छ भने मुम्बई इन्डियन्स चौथो स्थानमा रहेको छ । चेन्नई, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफ दौडबाट बाहिरिएका छन् भने दिल्ली क्यापिटल्स, कोलकोता र लखनऊ सुपर जायन्ट्सको प्लेअफ पुग्ने आशा अझै जीवित रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्