वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थानद्वारा गुजरात ८ विकेटले पराजित: आईपीएलमा आज दिल्ली र कोलकाता भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं – १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो ।

गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे भने शतकलगत्तै १ रन लिएपछि त्यसपछि फेस गरेको दोस्रो बलमा बोल्ड भएका थिए ।

- Advertisement -
Ad imageAd image

पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरेपछि राजस्थानको जित निश्चित भइसकेको थियो । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन तथा जैसवालले अविजित ७० रन बनाए । आजको प्रदर्शनपछि वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने भने सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रव छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए ।

कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिध कृष्णा र राशिद खानले १-१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाए ।

राजस्थानका महीश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए । यस जितपछि १० खेलमा ६ अंक भएको राजस्थान आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा १२ अंक भएको गुजरात तेस्रो स्थानमा छ । यस नतिजाका बाबजुद राजस्थानको प्लेअफ अझै कठिन छ भने गुजरात अझै पनि बलियो अवस्थामा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्