काठमाडौं – क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आईपीएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ। यो जितसँगै बैंगलुरु आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ। १० मा सात खेल जितेको बैंगलुरुको १४ अंक छ।
आईतबार भएको खेलमा बैंगलुरुले दिल्लीलाई ६ विकेटले हराएको हो। १६३ रनको लक्ष्य पछ्याएको बैंगलुरुले ९ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको हो।
२६ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका पाण्डेले अविजित रहँदै ४७ बलमा ७३ रन जोडेका थिए। उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे। कोहलीले ४७ बलमा ५१ रन जोडे। टिम डेभिडले अविजित रहँदै ५ बलमा १९ रन जोडे। दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले आठ विकेटको क्षतिमा १६२ रन जोडेको थियो। दिल्लीका लागि के एल राहुलले सर्वाधिक ४१ रन जोडे। धिमा गतिमा खेलेका उनले ३९ बलको सामना गरेका थिए। ट्रिस्टयन स्टब्सले १८ बलमा ३४ रन जोडे।
बैंगलुरुका भुवनेश्वर कुमारले चार ओभरमा ३३ रन खर्चेर तीन तथा जोस हजेलउडले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए। पाण्डेले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए। किफायती बलिङ गरेका सुयास शर्माले चार ओभरमा २२ रन मात्र खर्चिए।
१० खेलमा १४ अङ्क सहित आरसिबी शीर्ष स्थानमा उक्लिएको हो। ९ खेलमा १२ अंक बनाएको दिल्ली तालिकाको चौथो स्थानमा छ। गुजरात र मुम्बईको समान १२ अंक भए पनि रनरेटका आधारमा अगाडि छन्। आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स आमने सामने हुन्दै छन् ।


प्रतिक्रिया दिनुहोस्