शनिबार तातो हावा चल्ने सम्भावना: चार प्रदेशका तराई भागमा ४० डिग्रीमाथि तापक्रम !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – केही दिनदेखि देशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको र शनिबार पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

आज शुक्रबार साँझ साँझ ७ बजेको बुलेटिनअनुसार आज मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डिग्री सेल्सियस र धेरै स्थानमा ३९ डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको हो ।

- Advertisement -
Ad image

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भने विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो ।

भोलि शनिबार पनि मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहने विभागको पूर्वानुमान छ ।

ती स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अत: यसबाट बच्न निम्न उपाय अपनाउन आवश्यक छ:

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह सुझाव लिने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्