भूमिका गैरे तिमिल्सिना
भगवान विष्णुको दशावतार: मत्स्य अवतार ,कूर्म अवतार, वराह अवतार नृसिंह अवतार, वामनअवतार, परशुराम अवतार, श्रीराम अवतार, कृष्ण अवतार , बुद्ध अवतार र कल्कि अवतार हुन् । हिन्दु धर्म अनुसार भगवान विष्णुको धेरै अवतार मध्ये मत्स्य अवतार प्रथम अवतार हो।
प्रभुको प्रादुर्भाव ! जब जब पृथ्वीमा प्रलय आउँछ तब तब भगवान स्वयम् प्रकट भई धर्मको रक्षा गुर्नुहुन्छ । ज्ञानसँग द्वेष गरेर कोही ज्ञानी बन्न सक्दैन । हर युगमा कोही न कोही यस्तो हुन्छ कि जसले ज्ञानको बाटो रोक्न खोज्छ । ज्ञानी मान्छेको घृणा गर्छ तब दैवी शक्तिले कुनै न कुनै
रूपमा सजाय अवश्य दिन्छ । भगवान विष्णुको मत्स्य अवतार पनि त्यही हो।
हिन्दु धर्म ग्रन्थका अनुसार प्राचीन कालका सत्यव्रत नामका उदारवादी भगवानका परम भक्त राजा थिए । एकदिन उनी कृतमाला नदीमा स्नान गरी सूर्यलाई अर्घ दिन लाग्दा उनको हत्केलामा एउटा सानो माछा आयो । माछाले राजासँग बिन्ति गर्न थाल्यो, ‘हे राजा मलाई यो नदीमा नछोड्नुहोस् किनकि ठुला माछाले साना माछालाई खाइदिन्छ ,मलाई आफैसँग लगी राख्नुहोस् ।’ त्यो सुन्दा सत्यव्रतको मनमा दया जागी आफ्नो कमण्डलुमा राखी दरवार लगे तर केही समयमा नै माछा ठुलो भयो । कमण्डलुबाट निकाली अलि ठुलो भाडामा राखे । माछाले बिन्ति गर्यो, ‘मलाई यो ठाउँ साँगुरो भयो अलि ठुलो ठाउँमा राख्नुहोस् ।’ राजा अचम्मित हुदै तलाउमा राखे तर केही समयमा नै माछाको आकार तलाउ भरिको भयो । माछाले पुनः बिन्ति चढायो, राजाले त्यसलाई समुन्द्रमा नै लगेर छाडी दिए किनकि माछा ठूलो भएकाले त्यस समुन्द्रमा अब उसलाई खतरा थिएन ।
सत्यव्रतले यो कुनै भगवानको लिला हो भन्ने थाहा पाए र मत्स्यलाई प्रार्थना गरी सोधे र मत्स्यले प्रार्थना सुनी, ‘आफू विष्णु भगवानको रूप भएको र आजको सातौं दिनमा तिनै लोकमा महाजलप्रलय हुनेछ । त्यो महाप्रलयकार शिवजीले समस्त पृथ्वी लोकमा रहेका न्याय अन्याय, गुण अवगुण, दुषित, खराब वस्तुलाई शुद्ध पार्न र सृष्टिमा नवजीवन प्रदान गर्ने हेतुले महाप्रलय गर्नेछन् ।’
विष्णुभक्त व्रहमाका पुत्र मनुले पनि मानव कल्याण हेतु तपस्या गरेका थिए। विष्णु भगवानले सत्यव्रतलाई भने, ‘मेरो प्रेरणाले तपाईं सामु एक ठुलो डुङ्गा आउने छ । त्यसमा सम्पूर्ण जीव, वनस्पति, मानव संस्कृति र सभ्यता , शिक्षा र गुरुलाई बचाउन मनु सहित सप्त ऋषिहरू नव जीवनको कारक बन्नेछन् । नयाँ सृष्टिको सर्जक उनीहरूले संस्कृति, धर्म, विज्ञान, बिजको रक्षार्थ हेतु म मत्स्यको रूप धारण गरी महाप्रलयको जलबाट किना लगाउने छु ।’ भनि भगवान विष्णु अलप भए ।
सातौं दिन सत्यव्रतले सम्पूर्ण संस्कृति, सभ्यता , ज्ञान, विज्ञान, वनस्पति नवजीवनका लागि चाहिने सबै डुङ्गामा राखेर नाउ चलाउन थाले। आँधी हुरी सहितको जलप्रलयले डुङ्गा डग्मगाउन लाग्दा भगवान विष्णुको आराधना गरी विष्णु भगवान मत्स्य रूपमा आई डुङ्गा र माछालाई बाध्नु भने अनुसार गर्दा डुङ्गा सुमेरु पर्वत नजिक गई किनार लायो । महाप्रलय पनि शान्त हुन थाल्यो र सृष्टिको पुनः रचना हुन थाल्यो ।
भगवान विष्णुद्धारा सिर्जित धर्म रक्षार्थका चार वेदहरु व्रहमालाई जिम्मा लगाएका थिए । राक्षस हयग्रीवले ब्रहमाबाट वेद चोरेर समुन्द्रमा लुकाएको थियो । विष्णु भगवानले मत्स्य रूपमा राक्षस हयग्रीवलाई मारी वेदहरुको रक्षा गर्नुभएको थियो ।
मानव , पृथ्वी र आकाश, मानव र देवता, आत्मा र परमात्माको आपसी सम्बन्धको ज्ञान वेदले दिन्छ। वेदमा सबै ज्ञान निहित हुन्छ जुन धर्म र मृत्युका हर समस्याको समाधान बन्दछ । मानवलाई प्रकृतिसँग शक्ति प्रदान गर्छ र जीवनसँग प्रेम गर्ने शक्ति पनि वेदले दिन्छ।
ती चार वेदहरु हुन्
ऋग्वेद
यजुर्वेद
सामवेद
अथर्ववेद
भगवान विष्णुको मत्स्य अवतार सत्ययुगमा भएको थियो । यसको मुख्य उद्देश्य प्रलयकालमा संसारलाई नष्ट हुनबाट बचाउनु र वेदहरुको ज्ञानलाई पुनः स्थापित गर्नु थियो ।
हयग्रीव नामक राक्षसले वेदहरू चोरेर समुन्द्रमा लुकाएपछि संसारमा धर्म, ज्ञान लोप हुन थालेको थियो । महाजलप्रलयबाट मनु (प्रथम मानव) लाई बचाउन र नयाँ सृष्टिको सुरुवात गर्न भगवान विष्णुले मत्स्य अवतार लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्