अभिषेकको शतकमा हैदरावादको सानदार जित: पञ्जाब आठ विकेटले पराजित, आईपीएलमा आज पनि दुई खेल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० चैत्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – ओपनर अभिषेक शर्माको शानदार शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शनिबार भएको दोस्रो खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको जित दर्ता गर्दै हैदराबादले ६ खेलमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

- Advertisement -
Ad imageAd image

अभिषेकले आक्रामक ब्याटिङ गर्दै ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका थिए । अर्का ‌ओपनर ट्राभिस हेडले ६६ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

अभिषेकले चौथो ओभरमै जीवनदान पाएका थिए । चौथो बलमा यश ठाकुरको बलमा क्याच आउट भएपनि उक्त बल नो बल भएको थियो । त्यसपछि उनले थप आक्रमण सुरु गरे । उनी अन्य केही बलमा पनि भाग्यमानी साबित भइरहेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए । प्रभसिमरन सिंहले ४२ रन बनाउँदा मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे ।

हैदराबादका हर्शल पटेलले ४ विकेट लिए भने इशान मलिंगाले २ विकेट लिए ।

यस जितपछि ६ खेलमा ४ अंक भएको हैदराबाद अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ भने ५ खेलमा ६ अंक भएको पञ्जाब छैटौं स्थानमाछ ।

आईपीएलमा आज पनि दुई खेल हुँदै छन्, आज हुने पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेंजर्स बैङ्गलुरु भिड्दा आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स आमने सामने हुँदै छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्