काठमाडौं – डेक्लान राइसले फ्रिकीकमा दुई उत्कृष्ट गोल गरेपछि आर्सनलले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडलाई पराजित गरेको छ।
एमिरेट्स स्टेडियममा भएको पहिलो लेगमा आर्सनलले रियलविरुद्ध ३–० को अग्रता बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भए।
खेलको ५८ औँ मिनेटमा राइसले फ्रिकीकमा उत्कृष्ट गोल गर्दै रियलविरुद्ध आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ७० औँ मिनेटमा पनि राइसले फ्रिकीकमा नै गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे।
त्यसको पाँच मिनेटमा नै मिकेल मेरिनोले गोल गर्दै आर्सनलाई ३–० को अग्रता दिलाएका थिए। तीन गोलले पछि परेको रियलका लागि गएरातिको रात खराब रहन पुग्यो। इन्ज्युरी समयको चौथो मिनेटमा एडुआर्डो कामाभिङ दोहोरो पँहेलो कार्ड खादै मैदान छाडे।
आर्सनल सन् २००८–९ को सिजनपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन। पहिलो लेगको नतिजाले आर्सनलले सेमिफाइनलमा स्थान बनाउने ठूलो मौका मिलेको छ।
यसअघि गएराति नै भएको अर्को खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेभिड फ्राटेसीको गोलमा इन्टर मिलानले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई २–१ ले पराजित गर्दै इन्टर मिलानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। खेलको ३८ औँ मिनेटमा लाउटारो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको बायर्नले दोस्रो हाफमा पुनरागमनको राम्रो अवसर बनाएको थियो। खेलको ८५ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थोमस मुलरले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याएका थिए।
तर खेलको ८८ औँ मिनेटमा फ्राटेसीको गोलमा इन्टरले २–१ को अग्रता बनायो। इन्टरविरुद्धको हारसँगै बायर्नले च्याम्पियन्स लिगमा २२ खेलको अपराजित यात्रा पनि समाप्त गरेको छ। बायर्नले सन् २०२१ देखि घरेलु मैदानमा हार भोगेको थिएन।
क्वार्टरफाइनलको दोस्रो लेग १६ अप्रिलमा सान सिरोमा हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा बार्सिलोना वा बोरुसिया डर्टमन्डसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस्