काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ। शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हरायो। राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ बलमा ६२ तथा ग्लेन म्याक्सवेलले २१ बलमा ३० रन जोडे।
४३ रन बनाउँदा चार विकेट गुमाएको सो टोलीका लागि बाधेरा र म्याक्सवेलले पाँचौँ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। पञ्जाबले ८ बलको अन्तरमा पाँच रन जोडेर यी दुईका साथ सुर्यांस सेड्गेलाई पनि गुमाएको थियो। राजस्थानका जाफ्रा आर्चरले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए। उनी खेलको म्यान अफ द म्याच भए। यसैगरी सन्दीप शर्माले चार ओभरमा २१ रन खर्चेर दुई तथा महशे थक्सेनाले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो। राजस्थानका लागि यसस्वी जयसवालले सबै भन्दा धेरै ४५ बलको सामना गर्दै ६७ रन जोडे। रियान परागले अविजित रहँदै २५ बलमा ४३ रन जोडे। कप्तान सञ्जु सामसनले २६ बलमा ३८ रन जोडे। सिम्रन हटमायरले १२ बलमा २० रन जोड्दा अविजित रहेका ध्रुव जुरेलले पाँच बलमा १२ रन थपे। पञ्जाबका लुक्की फर्गुसनले चार विकेट लिए।
शनिबार नै भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो जित हासिल गर्दा चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गरेको छ ।
दिल्लीले दिएको १८४ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । चेन्नईका लागि विजय शंकरले सर्बाधिक ६९ रन बनाए भने महेन्द्र सिंह धोनीले अविजित ३० रन बनाए । त्यस्तै दिल्लीका विपराज निगमले २ विकेट लिए भने मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ७७ रन बनाएका हुन् । त्यस्तै अभिशेक पोरेलले ३३ रन बनाएका हुन् । त्यस्तै ट्रीस्टान स्टब्सले २४, कप्तान अक्सर पटेलले २१ र समिर रिजवीले २० रन बनाएका थिए ।
त्यसैगरी चेन्नईका बलर खालिद अहमदले २ तथा रविन्द्र जडेजा, नूर अहमद र माथीशा पाथिरानाले एक एक विकेट लिएका थिए ।
यो जितपछि दिल्लीले लगातार तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै चेन्नईले भने तेस्रो हार बेहोरेको छ । चेन्नईको ४ खेलमा २ अंकसहित आठौँ स्थानमा छ । रहँदा पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्