काठमाडौँ – आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको छ । गएराती विशाखापट्टनममा सम्पन्न खेलमा २१० रनको लक्ष्य पछ्याउँदै दिल्लीले खराब सुरुवात गरेपनि अन्तत: खेल भने जितेको छ । ज्याक फ्रेजर म्याकगर्क, अभिषेक पोरेल र समीर रिजवी आउट भएपछि दिल्ली संकटमा परेको थियो ।
सुरुवाती ओभरमा तीन विकेट गुमाएको दिल्ली क्यापिटल्सलाई राम्रो साझेदारीको आवश्यकता थियो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले चौथो विकेटका लागि फाफ डुप्लेसिससँग ४३ रनको साझेदारी गरे । कप्तान पटेलले २२ र डुप्लेसिसले २९ रन बनाएर आउट भएका थिए । त्यसपछि, ट्रिस्टन स्टब्स र आशुतोष शर्माले जिम्मेवारी सम्हाले । दुवैले दिल्लीको जितमा महत्वपूर्ण भूमिका निभाए । स्टब्स २२ बलमा ३४ रन बनाएर आउट भए भने आशुतोष ६६ रनमा अविजित रहे । उनी अन्त्यसम्म खेल्दै दिल्लीको जित सुनिश्चित गरेका थिए । उनीहरू बाहेक दिल्लीका लागि विप्रज निगमले ३९, मिचेल स्टार्कले दुई, कुलदीप यादवले पाँच र मोहित शर्माले एक रन बनाए ।
त्यस्तै लखनउका लागि शार्दुल, सिद्धार्थ, दिग्वेश र बिश्नोईले दुई-दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गर्दै लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाको थियो । लखनउका लागि निकोलस पुरनले ७५ र मिचेल मार्शले ७२ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बनाए। आईपीएल मेगा लिलामीमा अहिलेसम्मकै सर्वाधिक २७ करोडमा लखनउ पुगेका ऋषभ पन्त ६ बल खेलेपछि शून्य रनमा आउट भए।
त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।
आईपीएलमा आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र पञ्जाव किंग्सले यस सिजनको आआफ्नो पहिलो खेल खेल्दै छन् । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ । यस सिजनमा गुजरातको कप्तानी शुभमन गिलले गर्दै छन् भने पञ्जाव किंग्सको कप्तानी श्रेयस अय्यरले गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस्