ओली सरकार ढाल्न चलखेल सुरु: कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार देश र जनताको लागि बोझिलो भइसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अब गणतन्त्रका पक्षधरहरुबीच सहकार्य गरी अर्को सरकार बनाउनुपर्ने बताएका हुन् । सहकार्यको अर्को सरकारका लागि माओवादीले एमालेभन्दा कांग्रेससँग नै छलफल चलाउने उनले बताए । एमालेभन्दा कांग्रेस नै बढी प्रगतिशील रहेको नेता दाहालको दाबी छ ।

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको बीचमा सहकार्य, यो व्यवस्थाको रक्षा गर्न, संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रिया नेकपा (एमाले) भन्दा कांग्रेस चाहीँ सापेक्षित प्रगतिशील भएको नाताले गर्दा हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’– उनले भने ।

- Advertisement -
Ad image

अहिले सडकभन्दा मुख्यतः सरकारमै समस्या रहेको र सरकारमा बसेर व्यवस्थाविरोधी गतिविधि भइरहेको उनको आरोप छ । व्यवस्थाविरोधी गतिविधिलाई निरुत्साहित गर्न, संघीय लोकतान्त्रिक पक्षधरहरु एक ठाउँमा उभिन अर्को सरकार बनाउनुपर्ने उनको धारणा थियो । उनले माओवादीले गणतन्त्रविरोधीहरुसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताए । ‘गणतन्त्रविरोधीहरु सँग हाम्रो सहकार्य हुँदैन । गणतन्त्र पक्षधरहरुको सहकार्यको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ । यो प्रक्रियामा हामी छलफल सुरु गरिराखेका छौं । प्रारम्भिक छलफल हो । यसले आकार ग्रहण गरिसकेको छैन,’– उनले भने ।

प्रधानमन्त्री ओलीको सरकार सञ्चालन गर्ने शैलीले आम जनतामा वितृष्णा पैदा भएको र सडकमा पनि अराजकता बढेको उनको आरोप छ । ओली सरकारको गतिविधिले प्रतिगामीहरुलाई फाइदा पुगिरहेको उनले बताए । आफूहरु पूर्वराजाको सक्रियाबाट नआत्तिएको तर, सरकारको बेथिति र अराजकतालाई नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्