गएको माघ २ गते साँझ त्यस्तै सात बज्दै थियो । म र मेरो १२ वर्षको बहिनी चितवनबाट काठमाडौँ फर्कँदै थियौँ । चितवनबाट हामी चढेको गाडी मुग्लिन आउँदा बिग्रियो । मुग्लिनको बजारमा गाडी मर्मत गर्न केही समय लाग्ने भयो । गाडीधनीले हामीलाई पनि गाडी मर्मत हुन समय लाग्ने भयो, तपाईंहरु अर्को गाडीमा जान सक्नुहुन्छ भन्नुभयो ।
हामीले त्यहाँबाट अर्को गाडी समातेर काठमाडौँ आउनुपर्ने भयो । राति परिसकेकाले हामीलाई गाडी पाउन सजिलो थिएन । अब कहाँ गाडी खोज्ने भन्दै गर्दा इन्ड्राइभ सम्झिए । मलाई के थाहा थियो भने राइड शेयरिङ एप इन्ड्राइभले एउटा सहरदेखि अर्को सहरसम्म पनि सेवा दिन्छ ।
एउटा सिटीदेखि अर्को सिटीको सेवा दिँदा इन्ड्राइभले सिधै रिक्वेस्ट एस्सेप्ट नगर्ने रहेछ । पिकअप र डेस्टिनेसन राखेपछि उनीहरुले फोन गर्ने रहेछन् । एपमा रिक्वेस्ट गरेपछि मलाई पनि फोन आयो । उताबाट ड्राइभरले म पनि काठमाडौँ जाने हो, अहिले नारायणगढ छु भन्ने कुरा भयो ।
मैले पनि मसँग १२ वर्षको बच्चा छ पनि भने । उताबाट अफर गरेको भन्दा पाँच सय रुपैयाँ थप्नु न भन्ने प्रस्ताव आयो । मैले हुँदैन पैसा त त्यति नै हो, जाने भए त्यतिमै जाऔँ भने । जवाफमा एकैछिन कुर्नु न म ह्वाट्एपमा सम्पर्क गर्छु भन्नुभयो । उहाँले ठीक छ म जान्छु तर त्यहाँ आइपुग्न ४५ मिनेटदेखि एक घण्टा लाग्छ भन्नुभयो ।
उताबाट एकैछिनमा फेरि ह्वाट्सएपमा म्यासेज आयो । मैले फेरि पैसाको बार्गेनिङका लागि होला भन्ने सोचे । तर उताबाट त अर्कौ कुरा आयो । उसले बाटोमा कतै राति एक घण्टा जति कतै बसौँ पो भन्यो । मलाई झनक्क रिस उठ्यो । तपाईंले के कुरा गरेको यस्तो, लाज लाग्दैन, तपाईविरुद्ध उजुरी गरौँ भन्दै गाली गरे । उसले त उल्टै मन मिल्यो भने के फरक पर्छ र पो भन्यो । मैले तिम्रो यत्रो हिम्मत कसरी आयो भनेर गाली गरे । अनि मैले उसले पठाएको म्यासेजको स्क्रिनसट लिए । मलाई फोन गरेको नम्बर र ह्वाट्सएप नम्बर दुवै नम्बर ब्लक गरिदिए ।
हेर्दा सामान्य लाग्ला, फोनमा मात्रै त कुरा भएको हो भन्ने लाग्छ भने म तपाईंहरुलाई एउटा कुरा भन्न चाहन्छु । यदि त्यो मान्छेले फोनमा कुरा नगरी हामीलार्र्ई पिकअप गरेर रातिको समयमा राजमार्गको बाटो हुँदै काठमाडौँ आउँदा केही गरेको के हुन्थ्यो होला ?त्यो अवस्थामा कुरा गरेको भए म र मेरो बहिनी कहाँ हुन्थ्यो होला, हामी कहाँ हुन्थ्यौ होला ? अहिले सोच्न पनि सकिन्न । सायद अवस्था निकै फरक हुन्थ्यो । तपाईंहरुले यो कुरा थाहा नै पाउनुहुन्नथ्यो ।
त्यसपछि मैले इन्ड्राइभलाई सम्पर्क पनि गर्न खोजे, तर सम्पर्क भएन । उहाँहरुको नेपालमा कार्यालय नै रहेनछ । मैले उहाँहरुलाई सोही दिन राति नौ बजे नै म्यासेजको स्क्रिनसटसहित इन्टाग्राममा म्यासेज गरे । तर उताबाट कुनै प्रतिक्रिया आएन ।
काठमाडौँ आइसकेपछि उहाँलाई म्यासेजमार्फत कुरा गर्दा, उहाँहरुले राइडरको जानकारी दिन मिल्दैन भन्नुभयो बरु तपाईंले राइडरविरुद्ध प्रहरी समक्ष उजुरी गर्न सक्नुहुन्छ भन्ने जवाफ आयो । त्यहाँसम्म पनि ठिकै छ । तर प्रहरीले इन्ड्राइभका प्रतिनिधिसँग कसरी कुरा गर्ने । वेवसाइटमा नम्बर पनि छैन । सम्पर्क व्यक्ति पनि छैन ।
मैले इन्ड्राइभ प्रश्न सोध्न चाहन्छु, मैले सोही दिन राति इन्स्टाग्राममा पठाएको म्यासेजको रिप्लाइ किन आएन ? म समस्यामा परिसके भनेर म्यासेज गरेपछि तपाईंहरुले किन कुनै प्रतिक्रिया नजनाएको ? महिलाको सुरक्षाका विषयमा तपाईंहरुले किन चासो नदेखाउनुभएको ? त्यसैले अबदेखि इन्ड्राइभ चलाउनुअघि एकपटक सोच विचार गर्न अनुरोध गर्दछु ।
(एक इन्ड्राइभ यात्रुको अनुभवमा आधारित सत्य घटना)


प्रतिक्रिया दिनुहोस्