काठमाडौं – देशभर केही दिनदेखि बढेको चिसो आजदेखि विस्तारै कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा सुधार आउने र चिसो कम हुने पूर्वानुमान गरिएको हो ।
हुम्ला सहित कर्णालीका उच्च हिमाली जिल्लामा भने शुक्रबार रातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । आजदेखि विस्तारै मौसममा सुधार आएसँगै चिसो पनि कम हुँदै जाने देखिएको छ । यसबाट दैनिक जनजीवन, स्वास्थ्य र यातायातका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। चिसो घटेसँगै जनजीवन पनि सहज हुनेछ ।
तराई र पहाडी क्षेत्रमा अहिले देखिएको बाक्लो हुस्सु र कुइरो कम भई सडक यातायात र हवाई सेवा सञ्चालनमा सुधार आउनेछ । हिउँदे बाली लगाउन ढिलो भइरहेको बेला मौसम सुधारले कृषकलाई समयमै काम अघि बढाउन सहयोग गर्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेश र बाग्मती प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। तर आइतबारदेखि भने मौसम सफा भइ जाडो कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष पटक पटक हिमाली जिल्लामा परेको हिउँले भने बाली उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ । हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको छ । यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ । सिँचाइ नभएको ठाउँमा समयमै हिउँ परेपछि जमिन चिसो भइरहने र अन्नबाली राम्रो हुने स्थानीय कृषकले बताएका हुन् ।
देशभरका हिमाली क्षेत्रमा अहिले हिउँ परिरहेको छ । पहाडी र तराइ क्षेत्रमा पनि हुस्सु र कुइरोले जनजीवन कष्टकर बनिरहेको छ । मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो भएपछि गहुँ र अन्य हिउँदे बाली लगाउन समय घर्कंदै गएको किसानहरू बताउँछन् । अहिले किसानलाई सबैभन्दा बढी धपेडी उखु भएको खेत खाली गरेर बाली लगाउनुपर्ने काममा छ ।
भनेको बेला उखु कटानको चलान चिनी मिलले दिँदैनन्, खेत खाली गरेर खनजोत गरी समयभित्र बाली नलगाए छ महिना खेत बाँझै बस्छ । ढिलोमा पुसको तेस्रो साताभित्र गहुँ छरी सक्नुपर्ने हुँदा यसको चटारोले छोपेको किसानको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्