आजको मौसम: सुदूरपश्चिमबाट मौसम बदली, बढ्न थाल्यो चिसो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यतिबेला (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ । त्यसैगरि कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ ।

- Advertisement -
Ad imageAd image

साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । यसअघि पुस ४ गते काठमाडौंको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो ।

यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७ दशमलव ८ डिग्री सेल्सियस पुगेकामा पुस ४ गते त्यहाँ माइनस ७ दशमलव २ डिग्री सेल्सियस थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्