आजको मौसम: अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ। भोलि सोमबार भने अझै बढ्ने देखिएको र त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौंसम्म आइपुग्ने महाशाखाको अनुमान छ।

- Advertisement -
Ad image

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ।

बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

यसअघि यही मंगर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो। त्यस दिन काठमाडौंको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्