आज मिति वि.सं.२०८१ मंसिर २२ गते शनिवार ई.सं.२०२४ डिसेम्बर ०७ नेपाल सम्बत ११४५ थिंलाथ्व षष्ठी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल षष्ठी , चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:४१ बजे भयो भने सूर्यास्त साँझ ०५:०८ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): श्रम गरीकन मूल्य प्राप्त नहुने तथा अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । मुख्य काममा बाधा हुने देखिन्छ, सचेत रहनुहोला । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । प्रतिकुलताका बाबजुद गरेको मेहनतले अरुको विश्वास जित्न सकिएला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने योग छ । दिनको पछिल्लो प्रहर अनुकूलता वृद्धि हुने देखिन्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ भने यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । तथापि, दौडधुप र खर्च केही बढ्ला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । आज परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुऱ्याउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । काममा अभिभावक वर्गको साथ-सहयोग रहनेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । आम्दानी बढ्नेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । प्रेमको बन्धन कसिएर जाला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई सवक सिकाउन सकिएला । आजको दिन कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कृषिकर्ममा विशेष फाइदा हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहला । आजको दिन सवारी साधन उपयोग गर्दाचाहिँ अलिक सावधानी अपनाउनु हितकर हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ, बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्य अस्वस्थता अनुभूतिका बाबजुद इच्छाशक्ति बढ्ने र चिताएको काम सजिलै सम्पादन हुने समय छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । अध्ययन तथा अध्यापन कार्य केही सुस्त रहला । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागको भाव जागृत होला । पारिवारिक सुखशान्ति बढ्नुको साथै खास योजनाले मूर्तरूप पाउने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता वृद्धि हुनेछ तर मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी पनि परास्त होलान् । खर्च केही बढ्ने, अलिक बाध्यताका काममा जुट्नुपर्ने र सामान्य विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आजको दिन आलस्य त्याग गर्न सके उन्नतिको ढोका खुल्नसक्छ, ध्यान राख्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने दिन छ । तर, धन आर्जन गर्ने मौका जुर्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन मिश्रित फलदायी रहला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । कृषिकार्यबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा पनि समस्या आउने देखिन्छ । रोकिएको काम पूरा गर्नका लागि विशेष जोड लगाउँदा सार्थकता भेटिनेछ । पराक्रम प्रदर्शन हुने प्रकृतिको कार्यमा आकर्षण रहनेछ । बोलीको प्रभाव वृद्धि हुने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न भौतिक साधनहरू जुट्ने र प्रसन्नता पनि मिल्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै लाभ मिल्ने देखिन्छ । तथापि, पतिपत्नीमा अविश्वास र आफन्तजनसँग असमझदारी बढ्न सक्छ । आजको दिन बाध्यताका काममा अल्मलिनुपर्ने सम्भावना पनि छ । आरोग्यता रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन प्रवृत्त रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । खर्च बढ्ने र केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने सम्भावना रहेकोले सजगतापूर्वक कदम बढाउनु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आयबल बढ्ने र अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै धनलाभ होला । आफ्नो प्रतिभा धेरैलाई प्रदर्शन गर्न सकिनेछ । अरूको फाइदाका लागि उपयोग भइएला, सचेत रहनुहोला । काम बिग्रने डरले सताउन सक्छ, तर शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइने योग छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुपर्नेछ । सचेत नबन्दा हातमा आएको अवसर गुम्ने सम्भावना छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्