देउवाको ज्वाँईलाई डिआईजी बनाईदिन दरबन्दी थप्दै गृहमन्त्री लेखक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८१, मंगलवार
3 Min Read
Aa
नवनियुक्त उपप्रधानमन्त्री लेखक पदभार ग्रहण काठमाडौँ, ३१ असार ः नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर ः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं – सशस्त्र प्रहरी बलले एकजना अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने प्रस्ताव गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार उक्त प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको छ।

सशस्त्र प्रहरीले डीआईजी किशोर प्रधानलाई एआईजी बनाउन दरबन्दी थपको प्रस्ताव गरेको हो। ९ नम्बर पशुपतिनाथ बाहिनी बलम्बुको बाहिनीपति रहेका प्रधानको कार्यकाल सकिन लागेपछि दरबन्दी थप गरेर भए पनि एआईजी हुन उनले लबिइङ गरिरहेका थिए। उनकै जोडबलमा गृह मन्त्रालयले प्रस्ताव अगाडि बढाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो।

- Advertisement -
Ad imageAd image

गत वर्ष माघमै डीआईजीको चार वर्षे कार्यकाल पूरा गरेका प्रधान एक वर्ष डीआईजीको कार्यकाल थप गर्न सफल भएका थिए। थप गरिएको कार्यकाल पनि माघ १० गते सकिने भएपछि त्यसअघि नै एआईजी बन्ने उनको योजना अनुसार प्रस्ताव अगाडी बढेको हो। प्रधानलाई एआईजी बनाउन सफल भए एकेडेमी वा प्रशासन विभागमा राख्ने तयारी छ।

सशस्त्र प्रहरीमा पटक–पटक दरबन्दी थपघट गरिँदै आएको छ। एकपटक ६ जनासम्म एआईजीको दरबन्दी राखिएको थियो। तर पछि फेरि चारवटा विभागलाई गाभेर दुईवटा मात्रै कायम गरियो।

सीमा, कार्य, प्रशासन र मानवस्रोत विभागलाई गाभेर कार्य तथा सीमा र मानव स्रोत विकास विभाग मात्रै बनाइएको थियो। एआईजी राख्नकै लागि पशुपतिनाथ बाहिनीलाई केही वर्ष सशस्त्र प्रहरी महानगरीय कार्यालय बनाइएको थियो। पुनः एआईजीको दरबन्दी कटौती गर्दै पशुपतिनाथ बाहिनी नै कायम गरियो र डीआईजी राखियो।

एकेडेमीमा पनि कहिले एआईजी र कहिले डीआईजी राखिँदै आएको छ। एआईजीकै लागि कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर छुट्टाछुट्टै बनाइयो। सशस्त्रमा यसरी व्यक्ति हेरेर दरबन्दी बढाउने र घटाउने क्रम चल्दै आएको छ।

सशस्त्र प्रहरीमा भदौ १६ गतेदेखि नै दुईजना डीआईजीको दरबन्दी रिक्त छ। तर ती दरबन्दीमा बढुवा सिफारिस भने रोकिएको छ। बढुवाका लागि एकै ब्याचका दुईजना मात्रै प्रतिस्पर्धी भए पनि पछिल्लो ब्याचबाट दीपेन्द्र कुँवरलाई बढुवा गर्नका लागि दरबन्दी थप्न लागिएको हो।

कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनीज्वाइँ हुन्। शक्ति केन्द्रको प्रभावमै उनले दरबन्दी थपका लागि दबाब बढाएका हुन्। उनले दबाब बढाउँदा सशस्त्र प्रहरीमा अढाई महिनादेखि रिक्त दुई डीआईजी बढुवा हुन सकेको छैन।

गएको भदौ १६ गते ३० वर्षे सेवा अवधिका कारण डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाश भएका थिए। उक्त स्थानमा बढुवा गर्न सशस्त्रमा भर्ना भएको पहिलो ब्याचका दुईजना एसएसपी छन्। चारजना भए पनि स्टाफ कलेज एसएसपी मनिष थापा र कृष्ण ढकालले मात्रै गरेका छन्। डीआईजीका लागि सशस्त्र प्रहरीमा स्टाफ कलेज अनिवार्य छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्