बुटवल – सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बुधबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको छ।
बिहान कार्यालय खुल्नासाथ १० बजे नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर सरकारी वकिलकै रोहवरमा बयान लिन सुरू गरेको थियो।
साँझ अँध्यारो भइसक्दा पनि बयान निरन्तर गरिएको थियो। ७ः२५ बजे मात्र सरकारी वकिल कार्यालयबाट उनलाई प्रहरीले गाडीमा राखी हिरासततिर लगेको थियो।
‘बयानको क्रम अझै सकिएको छैन,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले नेपालखबरसँग भने, ‘उहाँसँग सम्बन्धित धेरै सवालजवाफ आज भएको छ। केही कुराहरू अझै रुजु गर्नुपर्नेछ। केही थपघट हुन सक्छ। बयानको क्रम भोलि पनि निरन्तर चल्छ।’


प्रतिक्रिया दिनुहोस्