आज काग तिहार: धन्वन्तरी जयन्ती दिवस पनि मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।

कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।

- Advertisement -
Ad imageAd image

यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।

यसैगरी, हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।

काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रुपमा आयुर्वेद क्याम्पस सञ्चालनमा रहेको छ ।
आयुर्वेद क्याम्पस अहिले कीर्तिपुरमा छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ्ग, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम हुँदैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्