दशैंको पाँचौं दिन आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – नेपालीहरूको सबैभन्दा ठूलो सास्कृतिक पर्व दशैंको पाँचौं दिन नेपाल पञ्चांग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।

नवरात्रको पाँचौं दिन आज पनि दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन शुभकर्मको थालनी वा सृष्टिको प्रतिकको रूपमा समेत मानिने कुष्माण्डदेवीको नवरात्रको चौथो दिन विशेष पुजा आराधना गर्ने परम्परा भएपनि आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

- Advertisement -
Ad image

देवी कुष्माण्डाले तातो रक्तसमूह भएका मानिस सहित चराचुरुङ्गी तथा चिसो रगत भएका माछा सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको विभिन्न पौराणिक एवं धार्मिक शास्त्रमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिन्डो मानिने हुनाले आजका दिनमा देवी कुष्माण्डालाई प्रशन्न पार्न दशैं घर तथा देवि मन्दीर एवं शक्तिपिठहरूमा कुभिन्डोको विधिपूर्वक पूजा गरि त्यसैको बली समेत चढाउने परम्परा छ । देवी कुष्मान्डाले नै ब्रह्माण्डको सृष्टि गरि पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ती दिएर प्रज्ज्वलित बनएको र अन्य ग्रहको समेत रचना गरि पुरै सौर्यमण्डल सञ्चालन गरेको देविभागवत लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

दुर्गापक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बाग्लुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्