देशभर घनघोर वर्षा: १०६ केन्द्रमा वर्षाले सतर्कताको तह नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – घनघोर वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् ।

आज पनि निरन्तर झरीपर्ने मौसमविद्ले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर झरी पर्ने छ । केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

- Advertisement -
Ad imageAd image

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ । मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ ।

सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ । अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ ।

चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा भएको छ । भारीदेखि धेरै भारी वर्षा भएमा त्यो क्षेत्रलाई जोखिमयुक्त मानिन्छ । आज शनिबार पनि निरन्तर झरी पर्ने सम्भावना भएकाले जोखिम अझै बढ्ने सम्भावना छ ।

अत्यधिक वर्षाले देशभर नै जनजीवन अस्तव्यस्त भएको छ । बस्तीहरु डुबानमा परेका छन् भने सडक र पुलमा क्षति पुगेको छ । काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्