काठमाडौं – हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ।
यतिबेला (शनिबार बिहान) देशभरका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ।
कोसी, मधेस बागमती, गण्डक र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ। आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन्। नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन्। राजमार्गहरु अवरुद्ध भएका छन्। सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ।
नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। गाडीहरुको लामो लाइन लागेको छ। उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ।


प्रतिक्रिया दिनुहोस्