साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं – साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए।

सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए। दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो।

- Advertisement -
Ad imageAd image

साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन्। यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ। ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए।

आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ।

‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ। बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरु पनि सहभागी हुने गर्दछन्।

आज विहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे। कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुगी दर्शन गरेको जानकारी दिए।

उनका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरुले आज स्वागत गर्नुका साथै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्