कांग्रेस र एमालेबिचको मन्त्रालय भागबण्डा टुङ्गियो: कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय पाउने सहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०८१, शनिबार
3 Min Read
Aa

काठमाडौँ – आईतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ। आईतबार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेपछि सोमबार प्रधानमन्त्रीको शपथसंगै मन्त्रिपरिषद् विस्तारको तयारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।

प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेका ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

एमालेका निकट स्रोतका अनुसार, सरकारमा सहभागी भएका दुई ठूला दलहरूका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने मोटामोटी तयारी छ। ‘९/१० सांसद बराबर एक मन्त्री बनाउने भन्नेगरी छलफल भएको छ,’ स्रोतले भन्यो, ‘यसो हुँदा, कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति हुन्छ होला।’ अन्य साना दलहरूलाई भने ४ सांसद बराबर एक मन्त्री दिनेगरी ओलीले प्रस्ताव गर्नेछन्।

अहिलेसम्म भएको सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ। भौतिक योजना र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन।

नेपाली कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ। सिंहले भौतिक, पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए। तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए।

गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसको प्रमुख सचेतक समेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ। त्यस्तै, देउवा पत्नी समेत रहेकी आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाउने तयारी छ। एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ।

त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन्। त्यस्तै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ।

अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दैछन्। कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी बैठकमा सभापति देउवाले ओलीसँग भएको समझदारीबारे ब्रिफिङ गरेका थिए। पार्टीमा सहमति जुटाएर सकेसम्म आजै आफ्नो दलबाट मन्त्री हुनेको नाम ओलीलाई पठाउने देउवाको तयारी रहेको स्रोतको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्