फ्रान्सलाई स्तब्ध पार्दै स्पेन युरोकप २०२४ को फाइनल प्रवेश, दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – युवा जाेश र टिम स्पिरिटले भरिएकाे स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । जर्मनकाे म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

- Advertisement -
Ad imageAd image

२१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्ष ३६२ दिनका लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो । याे गाेलसँगै उनी युराे कपमा गाेल गर्ने सबैभन्दा कान्छाे खेलाडीकाे रेकर्ड राख्न पनि सफल भए ।

२५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो । उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार फ्रान्सेली डिफेन्डर कुण्डेलाइ लागेर गोलमा परिणत भएको थियो ।

त्यसपछि खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ । स्पेनले अब आज हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा जारी युराे कपमा अपराजित छ । तीन पल्टको च्याम्पियन स्पेन युरो इतिहासमै लगातार ६ खेल जित्ने पहिलो टिम बनेको छ र अब चौथो उपाधिबाट एकै खेल मात्र टाढा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्