आजदेखि मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ।

महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ। केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भोलिदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन्।

उनका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबारदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ।

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आजदेखि आइतबारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ। सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ।

महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array