साबिक विजेता इंग्ल्यान्डलाई पराजित गर्दै भारत टी२० विश्वकपको फाइनलमा: उपाधिका लागि दक्षिण अफ्रिकासँग भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – साबिक विजेता इंग्ल्यान्डलाई पराजित गर्दै भारत अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा भारतसँग इंग्ल्यान्ड ६८ रनले पराजित भएको हो।

प्रोभिडेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १७२ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमै अलआउट भयो। योसँगै भारत जारी विश्वकपमा आफ्नो अपराजित लय कायमै राख्न सफल भयो।

इंग्ल्यान्डको इनिङ ध्वस्त पार्न भारतीय बलर सफल भए। भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट हात पार्दा जसप्रित बुमराहले २ विकेट लिए। अर्शदीप सिंह, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले विकेट लिन सकेनन्। इंग्ल्यान्डका जस बटलर २३, ह्यारी ब्रुक २५, जोफ्रा आर्चर २१ रन जोड्न सफल भए पनि अन्य ब्याट्सम्यान भारतीय बलरसामु टिक्न सकेनन्।

ओपनर फिल साल्ट ८ बल खेलेर आउट हुँदा मोइन अली १० बलमा ८ रन मात्र जोड्न सफल भए। जोनी बेर्स्टो ३ बल खेलेर शून्य रनमा आउट भए भने साम करानले २ रन, लियाम लिभिंगस्टोन ११, क्रिस जोर्डन १, अदिल रशिद २ र रिस टपले ३ रनमा नटआउट रहे। भारतीय बलरबाट इंग्ल्यान्डले २ रन उपहार पाएको थियो।

यसअघि वर्षातले पटक पटक अवरोध गरेको खेलमा भारतले २० ओभर खेलेर ७ विकेट नोक्सानीमा १७१ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए। विराट कोहली ९ बलमा ९ रनमै आउट भएको खेलमा ऋषभ पन्त पनि ६ बल खेलेर ४ रनमै पेभेलियन फर्किए। सूर्यकुमार यादवले ३६ बलमा ४७ रन, हार्दिक पाण्ड्या १३ मा २३ रन जोड्दा भारतले उच्च स्कोरको लय समातेको थियो।

खेलमा शिवम् दुवे डकआउट भए भने अक्षर पटेलले १० रन थपे। नटआउट रहेका रविन्द्र जडेजाले १७ र अर्शदीप सिंहले १ रन जोडे। इंग्ल्यान्डले ३ अतिरिक्त रन उपहार दिएको थियो। बलिङतर्फ भने क्रिस जोर्डनले भारतको ३ विकेट झार्दा रिस टपले, जोफ्रा आर्चर, साम करान र अदिल रशिदले समान १ विकेट लिए। लियाम लिभिंगस्टोन विकेटविहीन रहे।

इंग्ल्यान्डविरुद्धको जितपछि भारत फाइनलमा पुगेको छ। यसअघि नै अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको दक्षिण अफ्रिकासँग भारतले उपाधिका लागि खेल्नेछ। फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array