टी-२० विश्वकप क्रिकेट: दोस्रो सेमीफाइनलमा भारत र इङ्ग्ल्याण्ड भिड्दै, कस्ले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ असार २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौं – जारी टी-२० विश्वकप क्रिकेटमा आज राति भारत र साविक विजेता इङ्ग्ल्याण्डबीच दोस्रो सेमीफाइनल खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा आठ बजे प्रोभिडेन्स स्टेडियम गुयानामा हुनेछ ।

आजको खेल जित्ने टोलीले फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाइसकेको छ । टी-२० विश्वकपमा भारतले अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्याण्ड समूह चरण र सुपर-८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

टी-२० विश्वकपको इतिहासमा अहिलेसम्म भारत र इङ्ग्ल्याण्ड चार पटक आमने-सामने भएका छन् । जसमा दुवै टिम २/२ पटक विजयी भएका छन् । तर टी-२० विश्वकप बाहेक यी दुई टोली २३ पटक भिडेका छन् । जसमा भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेल जितेको छ ।आजको खेल जितेर दुवै टिम फाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छन् ।

सन् २०२२ मा भएको आइसीसी टी-२० विश्वकपको सेमीफाइनलमा इङ्गल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । त्यसको बदला लिन र फाइनलमा स्थान सुरक्षित गर्न भारतले ध्यान केन्द्रित गरेको छ ।

साथै भारतसँग नकआउट चरणमा पछिल्लो एक दशकभन्दा बढी समयदेखि भोग्दै आएको पराजयलाई पनि जितमा परिणत गर्ने इङ्गल्यान्डलाई आजको खेलले अवसर दिएको छ । भारतले सन् २००७ मा आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेपछि हालसम्म उपाधि जित्न सकेको छैन भने इङ्गल्यान्डले २०१० र २०२२ मा उपाधि हात पारिसकेको छ ।

आजको खेलमा भारतको प्लेइङ्ग ११ कस्तो रहनेछ भन्नेमा धेरैको चासो छ । जारी विश्वकपमा भारतको प्लेइङ्ग ११ पछिल्लो दुई खेलमा एक पटक मात्र बदलिएको छ । ओपनिङ्गमा विराट कोहली बारम्बार असफल भएपनि कुनै परिवर्तन गरिएको छैन । तर, सेमीफाइनलमा भारतको प्लेइङ्ग ११ कस्तो रहने केही जनाइएको छैन ।

यस विश्वकपमा ओपनिङ्ग गरेका कोहली बारम्बार असफल हुँदै आएका छन् । कोहलीका लागि यो विश्वकप अत्यन्तै खराब रहेको छ । उनी तीन पटक शून्यमै आउट भएका छन् । जारी प्रतियोगितामा उनले अहिलेसम्म ६६ रन मात्र बनाउन सकेका छन् ।

पूर्वक्रिकेटरहरू कोहलीलाई फेरि तीन नम्बरमै आउन सल्लाह दिएका छन् । अर्का ब्याट्म्यान यशस्वी जायसवाल अहिलेसम्म खेल बाहिरै बसेका छन् । जारी विश्वकपमा उनी एक खेल पनि खेल्ने मौका पाएका छैनन् । त्यसैले सेमीफाइनलमा भारतको ओपनिङ्ग कप्तान रोहित शर्मा र कोहलीले नै गर्ने लगभग निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

Array