अस्ट्रेलियालाई पराजित गर्दै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाइ २४ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘एक’ अन्तर्गतको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलिया पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना कमजोर भएको छ।

भारतले भने अब फाइनल प्रवेशका लागि समूह ‘दुई’ को उपविजेता बनेको इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। भारत अस्ट्रेलियालाई हराएसँगै पाँचौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

- Advertisement -
Ad imageAd image

अब अस्ट्रेलियाको सेमिफाइनल यात्रा बंगलादेशको हातमा पुगेको छ। यदि बंगलादेशले चलिरहेको खेलमा अफगानिस्तानलाई पराजित गरेमा मात्र अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बाँकी रहन्छ। अन्यथा टोली ‘सुपर आठ’ बाटै घर फर्किने छ। यदि बंगलादेशलाई अफगानिस्तानले पराजित गरेमा अफगानिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ। यि दुई टोलीबिचको खेल अहिले जारी छ।

सोमबार राति भएको खेलमा भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनमा समेटियो। उसका लागि ट्रेभिस हेडले ७६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहरेक कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ग्लेन म्याक्सवेल २० रनमा आउट भए। त्यस्तै टिम डेभिडले १५ रन बनाएका थिए। भारतका लागि अर्सदीप सिंहले ३ विकेट लिंदा कुलदीप यादवले २ विकेट हात पारे। त्यस्तै जसप्रित बुमराह र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। अस्ट्रेलिया विरुद्ध विशाल स्कोर बनाउने क्रममा भारतका लागि कप्तान रोहित शर्माले ९२ रनको विष्फोटक इनिङ खेले। शर्माले ४१ बलमा ७ चौका र ८ छ्क्का प्रहार गर्दा शिवम् दुवेले २८ रन बनाए।

त्यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दीक पाण्ड्या २७ रनमा अविजित रहे। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कुस स्टोइनिस मँहगो सावित भएपनि २-२ विकेट लिए। यसअघि समूह ‘दुई’ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्