आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश: क्रोएसिया र अल्वानिया बराबरी मै रोकिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – युरो कप २०२४ मा आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हंगेरीलाई २–० ले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जमाल मुसियाला र इलकाय गुन्डोगानले जर्मनीका लागि समान १–१ गोल गरे ।

पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो अन्तरले हराएको जर्मनीको २ खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित हंगेरी भने २ खेलमा अंकविहीन छ ।

यस्तै युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो ।

दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।

बराबरीपछि दुवै टोलीले १-१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २-१ ले तथा क्रोएसिया स्पेनसँग ३-० ले पराजित भएका थिए । खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।

७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए । यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २-१ को अग्रता लिएको थियो ।

तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए । अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array