दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट नेपाल असफल: सुपर ८ मा पुग्ने सम्भावना समाप्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौँ – टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना सकिएको छ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

Array