काठमाडौँ – बंगलादेशलाई चार रनले पराजित गर्दै दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ। गएराति भएको खेलमा बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिकाको समूह ‘डी’ को शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश भने २ अंकमा दोस्रो स्थानमा छ। त्यति नै खेलबाट नेदरल्यान्डस् तेस्रो स्थानमा छ।
एक खेलमा हार भोगेको नेपाल चौथो स्थानमा छ। दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ। दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।
बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गर्न केशव महाराजले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २७ रन दिए। एनरिच नोट्जे र कागिसो रवडाले समान २ विकेट लिए। बंगलादेशका टोहिड ह्डोयले सर्वाधिक ३७ रन बनाउँदा रवाडाको बलमा एलबीडब्लु धरापमा परे।
उनले ३४ बलमा २ चौका र २ छक्का हाने। महमुद्दीनले २० रन बनाउँदा महाराजको बलमा मक्रमको हातबाट क्याच आउट भए। कप्तान नजमुल होसैन सान्टोले १४ रन बनाउँदा नोर्टेजको बलमा मक्रमकै हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।
त्यसअघि न्युयोर्ककको नासाउ काउन्टि स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको थियो।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ४४ बलमा २ चौका र ३ छक्का हानदा ताक्सिन अहमदको बलमा बोल्ड आउट भए।
डेविट मिलर २९ रन बनाउँदा रिसद होसैनको बलमा बोल्ड आउट भए। ओपनर क्वीन्टन डी कक १८ रन बनाउँदा बोल्ड आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। बंगलादेशका लागि तान्जिम हसन सकिबले ३ विकेट झारे। ताक्सिम अहमदले दुई तथा रिसद हुसैनले १ विकेट लिएका थिए।
आईसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।
त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्