काठमाडौं – उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे ।
इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७.१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो । विल ज्याक्स १०, जोनी बेयरस्टो ७, मोइन अली २५, लियाम लिभिङस्टोन १५ र ह्यारी ब्रुकले २० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४, ग्लेन म्याक्सवेल २८, मार्कस स्टोइनिस ३०, टिम डेविड ११ र म्याथ्यु वेडले १७ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।
इंग्ल्यान्डका क्रिस जोर्डनले २, मोईन अली, जोफ्रा आर्चार, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए । अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । अष्ट्रेलियाले अव १२ जुनमा नामिबिया र १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ । उता इंग्ल्यान्ड र स्कटल्यान्डबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । इंग्ल्यान्डले १४ जुनमा ओमान र १५ जुनमा नामिबियासँग खेल्नेछ ।
यस्तै फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको छ । योसँगै समूह डी मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर–८ को सम्भावना मजबुत बनाएको छ ।
१०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । डेविड मिलर ५१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स ३७ बलमा १ चौका र १ छक्कासहित ३३ रन बनाए ।
एक समय ३–३ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई मिलर र स्टब्सले ७४ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । हेनरिक क्लासेन ४, रिजा हेन्ड्रिक्स र मार्को यानसनले ३–३ रन बनाए ।
एडेन माक्ररम र क्विन्टन डि ककले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका भिभियन किंग्मा र लोगन भान बिकले २–२ विकेट लिए । बास डि लिडे १ विकेट लिए ।
त्यसअघि नासा काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । साइब्राण्ड एंगलब्रेक्सले ४५ बलमा २ चौका र १ छक्कासहित ४० र लोगन भान बिकले २३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर ओट्निल ब्राटम्यानले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले अव तेस्रो खेल सोमबार बंगलादेश र १५ जुनमा नेपालसँग खेल्नेछ । उता नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले १३ जुनमा बंगलादेश र १७ जुनमा श्रीलंकासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्