मधेशमा आज नयाँ सरकार, जनमतका सिंह मुख्यमन्त्री !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८१, शुक्रबार
3 Min Read
Aa

जनकपुरधाम – जनता समाजवादी पार्टी नेतृत्वको सरकार ढलेसँगै मधेसमा नयाँ सरकार गठनको कसरत अन्तिम चरणमा पुगेको छ। जसपा नेतृत्वको सरोजकुमार यादव सरकार ढलेसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीचको सहमति अनुसार नयाँ सरकारको नेतृत्व जनमतले गर्ने भएको हो।

जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादवसहित अन्य ४ जना आकांक्षी छन्। मुख्यमन्त्री पदका लागि जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा, चन्दन सिंह र सतिष सिंहको नाम चर्चामा रहे पनि अन्तिममा सतिषलाई मुख्यमन्त्री बनाउन सबै सहमत हुने छाँटकाँट छ। तर, अन्तिम समयसम्म महेशप्रसाद यादवले आफ्नो कसरत गरिरहेका छन्।

- Advertisement -
Ad imageAd image

जनमतको नेतृत्वमा माओवादी केन्द्रका भरतप्रसाद साहलाई अर्थसहित दुई मन्त्रालय, एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकाससहित ४ मन्त्रालय, जनमतलाई मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एकीकृत समाजवादीलाई कृषिसहित २ मन्त्रालय र नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीलाई मन्त्री र राज्यमन्त्री दिने तयारी छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले बुधबार राति १० बजे नै आह्वान गरिसकेको छ। दलहरूले शुक्रबार बिहान १० बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने प्रदेश सांसद बसन्त कुशवाहाले जानकारी दिए।

गत वैशाख २४ गते जनता समाजवादी पार्टी नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि दल विभाजन हुँदा नेपालको संविधानअनुसार विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यसैअनुसार विश्वासको मत लिँदा जसपाले समर्थन प्राप्त गर्न नसकेको हो। फलस्वरूप मुख्यमन्त्रीको पदबाट सरोजकुमार यादव सत्ताच्युत भएका हुन्। जसपा विभाजन भएपछि मुख्यमन्त्री यादवलाई कांग्रेस र जसपाको सिंगो मत पाउँदा पनि उनको सत्ता जोगिएन।

२०७९ मंसिर ४ गतेको चुनावपछि मुख्यमन्त्री भएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद पनि सुरक्षित रहिरहे। २४ जेठमा केन्द्रीय गठबन्धनको १२ मा अशोक राईले ७ सांसदले फुटाएपछि कमजोर बन्यो। सो लगत्तै मधेसमा नयाँ सरकार बनाउन एमाले र माओवादीले वैशाख ३० मा राजीनामा दिँदै नयाँ सरकार बनाउने कसरतमा लागे।

केन्द्रमा बाँकी पाँच सिट रहेपछि प्रचण्ड सरकारबाट उपेन्द्र बाहिरिए पनि मधेस सरकार बचाउन उनी हरसम्भव लागि परे। एकीकृत समाजवादी सरकारमै यथावत् रहेर कांग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आश्वासनसहित सरकार टिकाउनेमा जसपा ढुक्क थियो।

तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाडेपछि विपक्षमा बहुमत पुगेको हो। मधेसमा अब तेस्रो दलको हातबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ। प्रदेशसभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन् भने जसपा तेस्रो ठूलो दल हो। तर, मधेस प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ। चौथो दलका रूपमा रहेको जनमतले एमाले र माओवादी केन्द्रसँग आलोपालो मुख्यमन्त्री चलाउने गरी सरकार बनाउनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्